युरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसिसि सदस्य भीमसेन थापाले युरोप उपसंयोजक(डिआरसी)मा उम्मेदवारी घोषणा गरेका छन् । आसन्न ११ औँ अधिवेसनमा युरोप उपसंयोजक(डिआरसी) पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन।
संघको संगठनात्मक परिवर्तन गर्न, युवाहरूलाई एनआरएनमा व्यापक सहभागी गराउन, संस्थामा परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए । संघको विधान र मर्म अनुसार काम गर्ने थापाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
११ औ महधिवेशनले युवाहरूको व्यापक सहभागितामार्फत गैर आवासीय नेपालीहरूको जीवनस्तरमा परिवर्तन गर्ने रूपान्तरणकारी अभियान सुरु गर्नुपर्ने बताए । गैरआवासीय नेपालीहरूको सुख दुःखमा अहोरात्र खटी सेवा गर्ने थापा पोर्चुगलका सफल ब्यवसायी र सामाजिक अभियन्ताको रूपमा परिचित छन्। उनले हस्पिटालीटी क्षेत्र, कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरी सेवा प्रदान समेत गरेका छन्।
उनी एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य, उपाध्यक्ष हुँदै हाल आइसिसि सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो ब्यावसाय गरिरहेका छन् । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरूको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए।
आफ्नो चुनाबी प्रचारको क्रममा थापाले अग्रजहरूको सम्मान गर्दै एनआरएन विधानको पद्धति, मर्म र भावनालाई प्राथमिकतामा राखी सेवा गर्ने अभिप्राय बाट प्रेरित भै उम्मेदवारी दिएको बताए। यस अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरू समक्ष पूर्ण सहयोग र समर्थनको लागी आग्रह गरेका छन्।
अभियानमा युरोपवासीको सल्लाह सुझाव लिएर अगाडी बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको र आफु निर्वाचित भए पश्चात संघका सबै गतिविधिमा युवा र महिलालाई अग्रस्थान राखी प्रवासमा हुर्कदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसँग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा विशेष पहल गर्ने थापाले प्रतिबद्धता गरेका छन्।
यस पटक आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्ता समक्ष थापाले विशेष आग्रह गरेका छन् । हाल उनी आफ्नो चुनावी प्रचारलाई तीव्र पार्न यूरोपका विभिन्न देशमा पुगेका छन् ।