२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

परराष्ट्रमन्त्री समक्ष एनआरएनए क्रोएसियाले राजदूतावासको माग गर्दै ज्ञापनपत्र बुझायो

क्रोएसिया,अप्रिल 26

क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै गैर-आवासीय नेपाली संघ( एनआरएनए )क्रोएसियाले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ।

एनआरएनए क्रोएसियाका अध्यक्ष सूर्यबहादुर थिङ( साइमन लामा) र महासचिव हरि घिमिरे को हस्ताक्षर रहेको ज्ञापनपत्र एनआरएनए क्रोएसियाका सल्लाहकार एवं प्रतिष्ठित व्यवसायी दावा लामा ले शुक्रबार परराष्ट्रमन्त्री लाई भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

क्रोएसियामा अनुमानित २०,००० भन्दा माथि बसोबास गर्ने नेपाली श्रमिकहरूको विद्यमान अवस्था ,श्रमिकहरूमा देखिएको राहदानी नवीकरण लगायतका समस्याहरुलाई मध्यनजर गर्दै क्रोएसियामा रहेका नेपाली समुदाय र समाजहरूको प्रतिनिधित्व गर्दै समाजसेवी एवं युवा व्यवसायी दावा लामाले ज्ञापनपत्र बुझाएका हुन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँगको भेटवार्ता पश्चात क्रोएसियामा राजदूतावासको स्थापना हुने कुरामा आफू आशावादी रहेको र यो प्रयासले सार्थकता पाउने कुरामा विश्वास लिएको कुरा दावा लामा ले युरो संचार बताए ।

यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल” प्रचण्ड” युरोप भ्रमणमा रहेका बेला क्रोएसियामा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्दै एनआरएनए क्रोएसियाका अध्यक्ष सूर्यबहादुर थिङ( साइमन लामा ) र सल्लाहकार दावा लामाले इटलीमा भेटवार्ताको क्रममा प्रधानमन्त्री समक्ष दूतावासको माग राखेका थिए।

क्रोएसियामा नेपाली श्रमिकहरूमा राहदानी नवीकरणको समस्या पहिलो स्थानमा देखिएको छ। एनआरएनए क्रोसियाले २०२४ मार्च ९ मा राहदानी नवीकरणको लागि ३३० भन्दा माथि राहदानीवाहकहरूको नामवली संकलन गर्दै प्रकाशन गरेको छ।
अष्ट्रियाको भियाना स्थित रहेको नेपाल राजदूतावास समक्ष एनआरएनए क्रोएसियाले राहदानी नवीकरण नामावली सङ्कलन गरेर पठाइसकेको छ तर दूतावासले भने घुम्तीटोली आउने मिति भने प्रकाशन गरेको छैन।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस